बजार नपाएपछि बारीमै थन्किन थाले अदुवा

बजार नपाएपछि बारीमै थन्किन थाले अदुवा

तनहुँ, २ फागुन । 
तनहुँका किसानले उत्पादन गरेका अदुवा किन्ने व्यापारी नआएपछि बारीमा नै थन्किन थालेका छन् ।  

उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको हो । 

गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्न परेपछि किसान चिन्तित बन्न थालेका छन् ।  गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो ।  यस वर्ष  रु १०० देखि १२० सम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका–४ का तुलबहादुर थापाले बताए। 

पाँच रोपनीमा अदुवा खेती गर्दै आएका थापाले  भने, “गत वर्ष दुई लाख मूल्य बराबरको अदुवा बिक्री गरेको,” भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकको अदुवा बारीमा नै रहेको छ । 

जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्रको रुपमा मानिन्छन् । भारतको मात्रै भरपर्दा कृषकलाई बिक्री गर्न समस्या परेको छ । थापाले भने “सङ्कलन, प्रशोधन, भण्डारण र बिक्री सम्बन्धी अध्यायन गरी समाधान गर्न जरुरी देखिएको छ ।” 

गत वर्ष भारतमा माग धेरै भएकाले मूल्य राम्रो पाउँदा तनहुँमा करीब रु ५० करोड बराबरको अदुवा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।