थप २५ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४२७ पुग्यो

थप २५ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४२७ पुग्यो

काठमाडौं, ७ जेठ । 
नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

१० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका-५ को बेलवानी क्वारेन्टाइनमा छन् ।

यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।

गत सोमबार दैलेखका एक जनामा कोरोना संक्रमण देखिएसँगै सातै प्रदेशका कुल ३८ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पीसीआर विधिबाट हालसम्म ३५ हजार ४९४ जनाको परीक्षण गरिएको छ । आरडीटी विधिबाट ७५ हजार ०७२ जनाको परीक्षण गरिएको छ ।  पीसीआर विधिबाट गरिएको परीक्षणमा ३५ हजार ६७ जनामा कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ  भने नेपालका विभिन्न अस्पतालको आइसोलेसनमा कुल ३८० जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २ जनाको कोरोनाका कारणमृत्यु भएको छ भने  ४५ जना निको भएर घर फर्किएका छन् ।