खोप वितरणको दोस्रो दिन २८ हजारले लगाए खोप

खोप वितरणको दोस्रो दिन २८ हजारले लगाए खोप

काठमाडौं, १५ माघ ।
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा अहिले बेलुका ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन् । उनका अनुसार प्रदेश नं १ मा ३ हजार ८ सय ४७, प्रदेश नं २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेशमा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जना रहेका छन् । 

उनले आजसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको जानकारी दिए । मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ । 

पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन् । 

खोपको मात्रा ०.५ मिलिलिटर (मिली) प्रदान गरिनेछ । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइनेछ । खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइनेछ ।  भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको छ । खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, १२० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका ३०० वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिँदैछ ।