राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंहको निधन

राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंहको निधन

काठमाडौं, २६ पुस ।
राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । 

महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका  सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका  सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएका थिए । क्रिकेटर कुन्दनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगतलाई ठूलो क्षति पुगेको बताउँदै जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले उनलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए । १२ वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आएका सिंह निकै मेहनती खेलाडी मानिन्थे। 

बाल्यअवस्थाको उमेरमै आमा बुवा गुमाएका क्रिकेटर कुन्दनलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए ।