मेरीबास्सैकी कलाकार ‘चम्सुरी’ को दुवै मृर्गौला फेल, तत्काल प्रत्यारोपण गर्न चिकित्सकको सुझाव

मेरीबास्सैकी कलाकार  ‘चम्सुरी’ को दुवै मृर्गौला फेल,  तत्काल प्रत्यारोपण गर्न चिकित्सकको सुझाव

काठमाडौं, ३ साउन । 
मेरी बास्सैकी चर्चित कलाकार 'चम्सुरी' अर्थात पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ। उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्।

विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहे पनि  उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन्।

उनकी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आइरहेको बताइन् । "डाक्टरको सल्लाहअनुसार उहाँले औषधि र खानेकुरा खादै आउनुभएको थियो तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो," दिपाश्रीले भनिन् । 

अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन्। पछिल्लोपटक डायलसिस गर्ने क्रममा रगत नआएपछि डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

स्वास्थ्य गम्भिर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डित दारी बा मार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् । सुरवीरबाटै थाहा पाएर आफू अस्पताल पुगेको दिपाश्रीले जानकारी दिएन् ।

उनको ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्ने चिकित्सकले अनुमान गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।

पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन्।

हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रोकिनुअघिसम्म त्यसमा काम गरिरहेकी थिइन् । 

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिनिन्छिन् ।