विश्वकप क्रिकेट : श्रीलंकामाथि न्युजिल्यान्डको शानदार जीत

विश्वकप क्रिकेट : श्रीलंकामाथि न्युजिल्यान्डको शानदार जीत
तस्विर सौजन्य : Hindustan Times

जेठ १८, काठमाडौं । 
इङ्ग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्‍वकप क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।

विश्वकपको आफ्नो पहिलो खेलमा १० विकेटको शानदार जित हात पार्दै न्युजिल्यान्डले विश्वकपमा शुखद सुरुआत गरेको हो ।

इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६.१ विना विकेटको क्षतीमा १ सय ३७ रन बनाउँदै लक्ष्य पुरा गर्यो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र कोलिन मुन्रो नट आउट रहँदै अर्धशतकीय पारी खेले । ५१ बलमा खेलेका मार्टिनले ८ चौका र २ छक्काको सहयोगमा ७३ रन बनाए । त्यस्तै, ४७ बलमा खेलेका कोलिनले ६ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने नट आउट अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ४ चौकाको सहयोगमा ५० रन बनाएका हुन् । त्यस्तै कुसल परेराले २९ रन जोड्दा फिसरा परेराले २७ रन जोडे ।

जीतसँगै न्युजिल्यान्डले अंक तालिकामा २ अंक बनाएको छ ।