अवैध सुनसहित पक्राउ परे नेपाल एयरलाइन्सका कर्मचारी

अवैध सुनसहित पक्राउ परे नेपाल एयरलाइन्सका कर्मचारी

वैशाख २३, काठमाडौं । 
३० अवैध तोला सुनसहित नेपाल एयरलाइन्सका एकजना कर्मचारी पक्राउ परेका छन् ।

महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स हृयांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।

उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिएका छन् । ‘यसअघि पनि नेपाल एयरलाइन्सको विमानबाट सुन तस्करी हुने गरेको देखिएको छ,’ एसएसपी लामाले भने, ‘यात्रुमार्फत तस्करी हुने सुन काठमाडौं पुगेपछि रञ्जितले बुझ्ने गरेको भेटिएको छ ।’

यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एयरलाईन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।